झारफुकको नाममा कुटपिट गर्दा १४ वर्षीया बालिकाको मृत्यु, आरोपित माता पक्राउ

२०७९ फाल्गुन २२, सोमबार २१:२२ बजे

रुपन्देही : रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

रेश्मीको कुटपिटबाट सोही ठाउँकी १४ वर्षीया सिता ज्ञवालीको मृत्यु भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जनाएका छन् ।


सामाजिक सञ्जाल फेसबुकमा आइतबार महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुइँमा लडाई घोप्टो पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।

माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक जगले नाकमुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने गरेकी थिइन् ।

त्यस्तै, कपालमा समाइ अनुहारको भागमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिटसमेत गरेको भिडिओमा देखिएको छ । उक्त भिडिओका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा खटिएको प्रहरीले मातालाई पक्राउ गरेको थियो ।

त्यसपछि प्रहरीले मृतक सिता ज्ञवालीको घर परिवारसँग सोधपुछका लागि पुग्यो । परिवारसँग बुझ्दा विगत ४/५ दिनदेखि सिता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाई उनको घरमा लगेको कुरा अनुसन्धानबाट खुलेको छ ।

आरोपित माता भनिने सोनिकालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखी ज्यान सम्बन्धि कसुरमा ७ दिन म्याद थप भई थप अनुसन्धान भैरहेको जनाइएको छ ।

कुटपिटका कारण झारफुक गरेको ठाउँमा नै सिताको मृत्यु भएकोमा परिवारले सोही दिनको राती नै दाहसस्कारको लागि घरपरिवाले कपिलबस्तु जिल्लाको लक्ष्मणघाट पुर्याएर दाहसस्कार गरेका मृतकको घरपरिवारबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार