६ महिनाको अन्तरमा २ पाइलट गुमायो रुपाले

२०८० असार २६, मंगलवार

पोखरा : पोखरा कास्कीको रुपा गाउँपालिकाले ६ महिनाको अन्तरमा हवाइ दुर्घटनाबाट २ जना सिनियर पाइलट गुमाएको छ ।

करिब ६ महिनाको अवधिमा रुपा गाउँपालिकाले पाइलट कमल केसी र चेतबहादुर गुरुङलाई हवाइ दुर्घटनामा गुमाएको हो । माघमा पोखरामा भएको यती एअरलाइन्स दुर्घटनामा पाइलट केसीलाई गुमाएको ६ महिनामै अर्का हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङको दुर्घटनामा निधन भएको हो ।

पाइलट गुरुङले मंगलबार सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् । हवाइ दुर्घटनामा ज्यान गुमाएका दुवै पाइलटको जन्म रुपा गाउँपालिकामा भए पनि काठमाडौं कर्मथलो बनाएका थिए । स्मरणीय के भने, पालिकाले आफ्नो स्थापना दिवसका अवसरमा दुवै पाइलटलाई ०७८ मा ‘रुपा रत्न’ पुरस्कारबाट सम्मान गरेको थियो ।

गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार कामको सिलसिलामा पाइलट गुरुङ काठमाडौं बसोबास गर्दै आए पनि अझै पनि रुपा गाउँपालिका–६ मा पुर्ख्यौली घर छ । ‘उहाँका सबै आफन्त, इष्टमित्र गाउँमै हुनुहुन्छ । धेरै समय काठमाडौं बसे पनि बेलाबेलामा आउजाउ भइरहन्थ्यो,’ उनले भने । ६ महिनाको अवधिमा हवाइ क्षेत्रका २ महत्वपूर्ण पाइलट गुमाउनु पर्दा पालिका शोकमा डुबेको उपाध्यक्ष लालसुब्बा गुरुङले बताइन् ।

‘उहाँहरु पनि हाम्रै पालिकाको हुनुहुन्छ है भनेर गर्वका साथ छाती पिटेर हिँडिन्थ्यो । तर, अब उहाँहरु हामीसँग हुनुहुन्न,’ उनले भनिन्, ‘महत्वपूर्ण व्यक्तित्वहरुलाई छोटो समयको अवधिमै गुमाउन पुग्दा पालिका शोकमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार