प्रधानमन्त्रीले संसद्‌मा रोएर ध्यान तान्नुभयो, उहाँको तागत नै त्यही हो : केपी ओली

२०८० असार २६, मंगलवार

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा गरेको सम्बोधनलाई ‘केटाकेटीपन’को संज्ञा दिएका छन्। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले रोएर ध्यान तान्न खोजेको बताएका छन्।

‘हिजो पनि ठूला कुरा सुन्दै थिए म प्रधानमन्त्रीजीका पार्लियामेन्टमा बोलेका कुरा। केटाकेटीको बल नै रुनेमा हुन्छ,’ ओलीले अघि भने, ‘आमाको ध्यान तान्ने रोएर, अरुको ध्यान तान्ने रोएर। भोक लाग्यो भन्नुपर्‍यो रुने, थकाई लाग्यो भन्नुपर्‍यो रुने। उसको बल नै, तागत नै त्यही हो।’ उनले अहिलेको सरकारको तागत नै झुट बोल्ने रहेको बताए। 

‘बाबुआमाले टेरेन, मानेन भने चल्काएर ल्याई हाल्छ बाबुआमालाई। बालकको रोदनमा तागत हुन्छ। विभिन्नको तागत विभिन्न चिजमा हुन्छ। र, अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैल्याउने, गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ,’ ओलीले भने।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको पनि उनले प्रष्ट पारे। उनले आफ्नो पार्टी सरकार बनाउने, जोखाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताए। ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको दोहोर्‍याए। उनले सरकार र सत्तारुढ दलहरुले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए। 

अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भईसकेको मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको भन्दै आक्रोश समेत व्यक्त गरे। उनले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार