चार वर्षअघि सोलुखुम्बुमै दुर्घटनामा परेर बाँचेका थिए क्याप्टेन गुरुङ

२०८० असार २६, मंगलवार

काठमाडौं : १ वैशाख २०७६ मा सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको १९ सिटे जहाज उड्ने क्रममा चिप्लिएर मनाङ र श्री एयरलाइन्सका हेलिकप्टर पार्किङ गरिएको क्षेत्रमा पुग्यो। 

उक्त दुर्घटनामा जहाजका को-पाइलट सुजित ढुंगाना, पर्यटक प्रहरी निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भयो। उड्ने क्रममा चिप्लिएको जहाजको ठक्करबाट मनाङ हेलिकप्टरका क्याप्टेन चेतबहादुर गुरुङ गम्भीर घाइते भए।

हेलिकप्टर अवतरण गरेर पार्किङ गरी ओर्लिने क्रममा समिटको जहाज हेलिकप्टरमाथि बज्रिएको थियो। त्यसबेला गुरुङको ढाडमा चोट लाग्यो। उनलाई तत्कालै काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरियो। जहाँ ३ महिनाभन्दा लामो समय उपचार गरेर गुरुङ निको भएका थिए। निको भएको केही समयपछि उनले फेरि हेलिकप्टर उडाउन थाले। 

जीवनमा कहिलेकाहीँ दुर्लभ संयोग पर्छन्। त्यस्तै दु:खद संयोग कास्कीमा जन्मिएर ललितपुरको भैँसेपाटीमा बस्दै आएका गुरुङ जीवनमा पनि आइपर्‍यो। चार वर्षअघि गम्भीर घाइते भएर बाँचेका गुरुङ मंगलबार (असार २६ गते) फेरि सोलुखुम्बुमै हेलिकप्टर दुर्घटनामा परे। दुर्भाग्य! यसपटक उनी बाँच्न सकेनन्।

सोलुखुम्बुको सुर्के हेलिप्याडबाट उनले उडाएको हेलिकप्टर ८ मिनेटमै दुर्घटनामा पर्‍यो। काठमाडौंका लागि उडेका ५ मेक्सिकन पर्यटकसहित क्याप्टेन गुरुङ पनि दुर्घटनामा परेर सदाका लागि अस्ताएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार