ललिता निवास प्रकरणमा पूर्वकर्मचारी धमाधम समातिँदै

२०८० असार २७, बुधबार

काठमाडौँ : ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका पूर्वकर्मचारीहरू धमाधम पक्राउ परिरहेका छन् । मंगलबार मात्रै भूमिसुधार विभागका पूर्वमहानिर्देशक (सहसचिव) र भौतिक योजना मन्त्रालयका पूर्वउपसचिवसहित चार जना समातिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको फाइल पछिल्लो पटक खोलेयता एक बहालवाला सचिव र १२ पूर्वकर्मचारी पक्राउ परिसकेका छन् । 

सीआईबीले मंगलबार भूमिसुधार विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ, तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका उपसचिव (सिनियर डिभिजन इन्जिनियर) बालकृष्ण श्रेष्ठ तथा मालपोत कार्यालय डिल्लीबजारका पूर्वनायब सुब्बा योगराज पौडेल र पूर्वखरिदार नारायणराज मिश्रलाई पक्राउ गरेको हो । ०४९ सालताका मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत नासु पौडेल र खरिदार मिश्र किर्ते कागजात तयार पारी टिप्पणी उठाउने काममा सामेल रहेको पाइएको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार ०४९ सालमै भूमि व्यवस्था विभागमा अधिकृत (पछि महानिर्देशकबाट अवकाश) रहेका श्रेष्ठ नक्कली कागजातका आधारमा सरकारी जग्गा व्यक्तिको बनाउने गरी हालसाविकसम्बन्धी निर्णयमा संलग्न थिए भने तत्कालीन भौतिक योजनाका उपसचिव श्रेष्ठ ०६६/६७ मा नक्कली मोहीलाई सरकारी जग्गा सट्टाभर्ना र प्रधानमन्त्री निवास विस्तारका क्रममा भएका गैरकानुनी टिप्पणी आदेश स्वीकृत गर्ने भूमिकामा सामेल थिए ।

०४९ तिर भएका किर्ते र हिनामिनामा पूर्वसहसचिव सुधीरकुमार शाह र ०६६/६७ को जग्गा सट्टाभर्ना तथा नक्कली मोहीको निर्णयमा संलग्न रहेको कसुरमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परिसकेका छन् । नक्कली मोही खडा गर्नेदेखि बिचौलियासँग मिलेर सरकारी सम्पत्ति हत्याउनेसम्मका अपराधमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परिसकेका छन् ।

यस प्रकरणमा नक्कली मोही बनेका दुई जना पनि समातिएका छन् । असार १२ यता पक्राउ परेका उनीहरूलाई मुलुकी ऐन ०२० र संगठित अपराध निवारण ऐन– ०७० बमोजिम अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ । सीआईबीले यस प्रकरणमा ४ सयभन्दा बढीलाई आरोपित बनाएर अनुसन्धान गरिरहेको छ ।

पञ्चायतकालमै अधिग्रहण गरी सरकारका नाममा ल्याइएको ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा विसं ०४९ देखि ०६९ को अवधिमा राजनीतिक, प्रशासनिक, व्यापारी, भूमाफिया र सुवर्णशमशेर राणाका पूर्वभोगाधिकारीको मिलेमतोमा हडपिएको थियो । सरकारी कागजात किर्ते र सक्कली कागजात नष्ट गरी जग्गा हडप्न गिरोहले योजनाबद्ध र संगठित रूपमा काम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार