प्रहरी जवानलाई चौकीमै हात बाँधेर यातना

२०८० असार २७, बुधबार

सिरहा : जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवानलाई पछाडि हात बाँधेर यातना दिएको भिडियो बाहिर आएको छ । 

जवान अनु रायलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमन्त राईले यातना दिएको आरोप छ । प्रहरी जवान रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भन्दै भिडियो बाहिरिएको हो । २ मिनेट १८ सेकेन्डको भिडियोमा जवान रोएको देखिन्छ ।

उनले ‘यसरी यातना नदिनुस्, बरु मार्दिनुस्’ भनेर याचना गरेको दृश्य समेत भिडियोमा छ । मादक पदार्थ कहाँ सेवन गरिस् ? भनेर सोधखोज भएको र उनले मादक पदार्थ सेवन गरेको छैन भनेको पनि भिडियोमा देख्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्रराज पाण्डेले प्रहरी सेन्ट्रीलाई अवरोध गरेको तथा मार्छु र आफू पनि मर्छु भन्ने खालका अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको दाबी गरे ।

‘सेन्ट्री नबस्ने, हतियार खोस्ने, मर्छु भन्ने कुरा गरेकाले हामीले नियन्त्रणमा लिएका हौं,’ प्रवक्ता पाण्डेले भने । उनले त्यो समयमा मादक पदार्थ वा अन्य कुनै पनि नशालु पदार्थ सेवन गरेको पुष्टि नभएको पनि बताए । ‘अस्पतालमा मापसे चेक गरेका थियौं, तर नेगेटिभ रिपोर्ट आएको छ र अन्य त्यस्तो नशालु पदार्थ सेवन गरे/नगरेको पुष्टि छैन,’ डीएसपी पाण्डेले भने ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले यसबारेमा अहिले जानकारी नभएको र सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको बताए । ‘मैले यस विषयमा मिडियाबाट थाहा पाएँ, के भएको भन्ने विषयमा बुझ्दैछौं,’ डीआईजी कडायतले भने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार