दोलखामा विषालु च्याउ खाँदा १ को मृत्यु, ४ जना बिरामी

२०८० असार २८, बिहीबार

दोलखा : जंगलबाट ल्याएको विषालु च्याउ खाँदा जिल्लाको गौरीशंकर गाउँपालिका–६ चंखुकी एक महिलाको मृत्यु भएको छ । परिवारका ४ जना बालबालिका बिरामी भएका छन् ।

जंगली च्याउ खाँदा चंखुकी ३२ वर्षीया सोमलेकी शेर्पाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । असार २३ गते च्याउ खाएर शेर्पासहित परिवारका सदस्यहरु बिरामी परेपछि सिंगटीको रोल्वालिङ सामुदायिक अस्पतालमा पुर्‍याइएको थियो ।

बुधबार शेर्पाको मृत्युपछि मात्रै अस्पतालले विषालु च्याउ खाएर उपचारका क्रममा मृत्यु भएको प्रहरीलाई जानकारी दिएको थियो । जनशक्तिबिनै अस्पतालले उपचार हुन्छ भन्दै बिरामी राखेको प्रहरीले जनाएको छ ।

घटना जानकारी नदिई उपचाररत बिरामीको मृत्युपछि मात्रै खबर दिएको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी नायव निरीक्षक सानु तामाङले जानकारी दिए । अन्य ४ बालबालिकालाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ । उनीहरुको अवस्था सामान्य छ ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले उक्त अस्पतालमाथि तत्काल छानबिन थालिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार