न हिजो कांग्रेसका पछि थियौँ, न माओवादी र एमालेको : रवि लामिछाने

२०८० असार २८, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु अन्य पार्टीको पछि नलागेको बताएका छन्। बिहीबार संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुले स्वतन्त्र निर्णय लिने गर्ने गरेको दाबी गरे।

‘अहिले प्रतिपक्षमा एमाले हामीभन्दा ठूलो दल भएको हुनाले एमालेको पछि लाग्यो भन्ने भाष्य ‘क्रियट’ गर्न खोजिएको छ। हामी एमालेको पछि लाग्ने होइन। हामी त जनताको मुद्दाको पछि लाग्ने हो’, उनले भने, ‘न हिजो हामी कांग्रेसको पछि थियौँ। न माओवादीको पछि हौँ। न एमालेको पछि हौँ। प्रतिपक्षी बेञ्चमा सँगै छौँ। जनताका जीविकाका साझा मुद्दा पनि होला। अलग मुद्दा पनि हुन्छन्।’

उनले आफूहरुले अलगअलग समयमा आवश्यकता अनुसार निर्णय गर्ने गरेको बताए। आफूहरुले जस्तो स्वतन्त्र निर्णय गर्ने अन्य दल कमै मात्र रहेको उनको भनाइ छ। ‘पुस १० को एउटा एग्रिमेन्ट थियो। हामी त्यसमा बस्न सकुञ्जेल बस्यौँ’, उनले भने, ‘बस्न सकुञ्जेल बस्यौँ। जब त्यो एग्रिमेन्ट टुट्यो। त्यो नरहेपछि हामी सरकारमा बसिरहनुपर्ने आवश्यकता भएन।’

आफूहरुले स्वतन्त्र रुपमा गरेको निर्णयको उदाहरण दिँदै उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रसंग प्रस्तुत गरे। ‘हामीले रामचन्द्र पौडेलको पक्षमा निर्णय गर्यौँन। त्यतिखेर पनि यो गठबन्धनको पछि लाग्यो, सरकारमै जान लागेको हो कि भन्ने कुराहरु भए’, उनले भने, ‘संविधानको मर्मअनुसार जनमतको उम्मेदवारले त जित्ने कुनै सम्भावना नै नहुँदा पनि उपराष्ट्रपतिमा मत दियौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार