इमर्जिङ कप हाम्रो लागि एसिया कपको तयारी हो : कप्तान रोहित

२०८० असार २८, बिहीबार

काठमाडौं : श्रीलंकामा आजदेखि एसिसी इमर्जिङ टिम्स एसिया कप सुरु भएको छ। नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन्।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ। एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुने तय छ। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

एसिया कपअघि इमर्जिङ कप खेल्दा पनि नेपालले भारत र पाकिस्तानकै ‘ए’ टिमसँग भिड्नेछ। युएईको ‘ए’ टिम पनि नेपाल रहेको समूहमा छ। प्रतियोगितामा मैदान उत्रनुअघि नेपालका कप्तान रोहितकुमार पौडेलले इमर्जिङ कपलाई एसिया कपको तयारीको रुपमा लिएको बताए।

‘यो प्रतियोगिता हाम्रो लागि एसिया कपको तयारी हो। प्रतियोगिता सिक्ने ठूलो अवसर पनि हो। प्रत्येक खेलमा हामी जितका लागि खेल्नेछौं,’ रोहितले सहभागी टिमका कप्तानसहितको पत्रकार सम्मेलनमा भने। नेपालले आफ्नो पहिलो खेल भोलि पाकिस्तानको ‘ए’ टिमसँग खेल्नेछ।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ। दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा।

समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार