सुशासन स्थापनाका लागि सरकारको अभियान रोकिँदैन : गृहमन्त्री श्रेष्ठ

२०८० असार २८, बिहीबार

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाइरहेको बताए ।

उनले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वसर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताएका थिए । तर ‘निर्दोष नफसुन् र दोषी नछुटुन्’ भन्ने मान्यता अख्तियार गरिएको पनि उनले बताए ।

‘सरकार प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन, टुंगोमा पुर्‍याउन दृढ छ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर हामी अगाडी बढाइराखेका छौं । र सुशासनको सन्दर्भमा सम्पूर्ण देशले र यो सदनका सम्पूर्ण माननीयज्यूहरुले पनि जुन प्रकारको समर्थन व्यक्त गर्नुभएको छ, त्यसको म उच्च मूल्यांकन गर्न चाहान्छु र हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यसले विश्राम लिने छैन । हामी देशको समृद्धिको लक्ष्य हासिल गर्न सुशासन एक प्रकारको पूर्वसर्त हुन गएको कुरालाई आत्मसात गरेका छौं । त्यस अन्तर्गत हामी अझ पनि अगाडि बढ्छौँ । निर्दोष कुनै पनि हालतमा नफसुन् । दोषी, अपराधी कुनै पनि हालतमा नछुटुन् भन्ने मान्यता हामीले अख्तियार गरेका छौं,’ गृहमन्त्री श्रेष्ठले भने ।

श्रेष्ठले गृह मन्त्रालय सम्हालेपछि ठूला भ्रष्टाचारका घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने काममा नेपाल प्रहरीले सक्रियता बढाएको छ । यसबीचमा नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा संलग्न उच्चपदस्थ अधिकारीहरू पनि पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार