राप्रपामा अब काम नगरी नेता हुन नपाइने

२०८० असार २८, बिहीबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले नेताहरुलाई भूगोल केन्द्रित जिम्मेवारी दिएको छ । जिम्मेवारी अनुसार तोकिएको भूगोलमा नजाने नेतालाई पदीय जिम्मेवारीबाट मुक्त गर्ने नियम बनाएको छ ।

बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा, अब नवीन राप्रपा कार्ययोजना २०८० को मूल बुँदाहरु सार्वजनिक गर्दै राप्रपामा काम नगरी नेता हुन नपाइने व्यवस्था गरेको जानकारी गराएका छन् ।

राप्रपाले केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९०० जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरेको छ ।

एकैसाथ ७५३ वटै स्थानीय तह र ६ हजार ७४३ वटै वडा तथा प्रवासमा समेत जिम्मेवारी तोकेको राप्रपाले जिम्मेवारी प्राप्त नेताहरूले तोकिएको भूगोलमा ६ महिनासम्म संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्ने नियम बनाएको छ ।

जस अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको जिम्मेवारी धरान उपमहानगरपालिकामा परेको छ । भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेश गर्नुपर्ने पनि राप्रपाले बताएको छ ।

‘राप्रपामा अब काम नगरि नेता हुन नपाईने ब्यवस्था मिलाइएको छ’ बिहीबार सार्वजनिक गरिएको कार्ययोजनाको मुख्य बुँदामा भनिएको छ । त्यस्तै भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह संयोजक पनि तोकिएको छ ।

राप्रपाले एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्‍याउने, ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गर्ने,  केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तीमा ७ जना ४० वर्षसम्मका युवाको प्रतिनिधित्व गराउने पनि घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार