भारतले बासमतीबाहेकका चामल निर्यातमा लगायो रोक

२०८० श्रावण ५, शुक्रबार

काठमान्डौ : भारतले बासमतीबाहेकका अन्य सबै प्रकारका चामल निर्यातमा रोक लगाउने निर्णय गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयमातहतको विदेश व्यापार महानिर्देशनालयले बिहीबार एक सूचना जारी गर्दैै यस्तो निर्णय तत्कालै लागू हुने जनाएको हो ।

भारतले हालै ल्याएको ‘वैदेशिक व्यापार नीति २०२३’ अनुसार चामल निर्यातमा रोक लगाएको हो । तर, निर्यातको प्रक्रिया सुरु भइसकेको एवं सिपिङका लागि लोड भइसकेको चामल भने रोकिनेछैन । त्यस्तै, कुनै पनि मुलुकको खाद्य सुरक्षाका लागि भारत सरकारले अनुमति दिएको खण्डमा समेत चामल निर्यात रोकिनेछैन ।

भारतले चामल निर्यातमा रोक लगाउँदा नेपाली बजारमा चामलको अभाव हुने अनुमानबीच व्यवसायी भने खासै फरक नपर्ने बताउँछन् । भारतबाट ठूलो मात्रामा बासमती चामल नै आयात हुने गरेकोमा अहिलेको भारतीय नीतिले भने खासै असर पर्ने कृषि उद्यमी पवन गोल्यानले बताए । उनले भने, ‘बासमतीबाहेक भनेको हुनाले हामीलाई त्यति धेरै असर गर्दैन ।’

उद्यमी गोल्यानले स्वदेशमै धानको उत्पादन बढाउनुपर्ने अवसरका रूपमा पनि भारतको नीतिलाई हेर्नुपर्ने बताए । भारतले वैदेशिक व्यापार नीति, ०२३ लाई टेकेर बासमतीबाहेकको चामल निर्यातमा रोक लगाएको जनाएको छ । भारतबाट बासमतीसहित मसिनो चामलको आयात ठूलो मात्रामा हुने गरेको छ । सूचनाको बुँदा नम्बर ४ भने भारतबाट चामल निर्यातमा रोक लगाउने निर्णयका कारण कुनै देशको खाद्य सुरक्षामा जोखिम हुन सक्ने भए सम्बन्धित देशले आधिकारिक रूपमा आग्रह गरे निर्णयमा पुनर्विचार गर्न सक्ने प्रावधान भने समेटिएको छ ।

नेपालले बर्सेनि अर्बौँको चामल भारतबाट आयात गर्दै आएको छ । गत आव ०७९/८० को ११ महिनामा मात्रै भारतबाट ३३ अर्ब ३७ /७९ मा भने ४७ अर्ब ३५ करोड ६० लाख रुपैयाँको धान–चामल भारतबाट आएको थियो । त्यसअघिको आव ०७७/७८ मा इतिहासकै सबैभन्दा बढी ५० अर्ब ४७ करोड ८२ लाख रुपैयाँबराबरको धान–चामल भारतबाट आएको थियो ।

चामलमा पूर्ण रूपले भारततर्फ निर्भर भएकाले नेपाललाई भारतको पछिल्लो नीतिले निकै समस्या पर्ने देखिन्छ । गत वर्ष देशभर ५४ लाख ८६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यो वर्ष भने उत्पादनमा झन् कमी आउने अनुमान गरिएको छ । किनभने, यो वर्ष असार मसान्त सकिँदा देशभर ५३ प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार