
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा युवतीलाई एसिड प्रहार गर्ने खोजेकाे आरोप एक जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ का १६ वर्षीय आशिष सुनार रहेका छन् ।
सुनारले शुक्रबार सोही वडाको मैकल बजार नजिकै बराहताल गाउँपालिका –१० की अन्दाजी १७ वर्षीय सोबिता बुढालाई एसिड प्रहार गर्न खोजेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार सुनारले प्रहार गरेको एसिड युवतीलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेको छ ।
नेत्रबहादुर घाइते भएको डीएसपी शाहीले बताए । एसिड प्रहार घटनामा अन्य एक व्यक्ति पनि संलग्न रहेको प्रहरीले बताएको छ । उनी फरार रहेको बताइएको छ । फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ती युवाले युवतीलाई किन एसिड प्रहार गर्न खोजेका हुन् भन्ने खुलेको छैन ।