भारतले खोल्यो धौलिगंगाको बाँध, महाकाली नदीमा जलसतह बढ्ने

२०८० श्रावण ६, शनिबार

काठमाडौं : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगंगा जलविद्युत् आयोजनाको बाँध खोलिएको छ। आज बिहान पाँच बजेदेखि बाँध खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। एनएचपिसी लिमिटेड, धौलिगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतले साउन ६ गते बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सिफ्ट फ्लसिङ सरसफाइको काम हुने भएकाले बाँध खोलिनेबारे यसअघि नै पत्राचार गरेको थियो।

बाँध खोलेपछि महाकालीको नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। बैतडीका प्रमखु जिल्ला अधिकारी पन्थीले यसपटक १५ घन्टा बाँध खोलिने भएकाले महाकाली नदीको जलसतह तुलनात्मक रूपमा बढ्ने अनुमान गरिएको जानकारी दिए। यद्यपि, जलसतहबारे बिहान १० बजेपछि मात्रै थाहा हुने उनले बताए।

यसअघि असार २६ गते पनि उक्त परियोजनाको बाँध खोलिएको थियो। ‘त्यतिबेला पनि महाकाली नदीको जलसतह बढेको थियो, यसपालि अलि धेरै बेर खोलिने भएकाले बढी नै जोखिम रहन्छ,’ प्रमुख जिल्ला अधिकारी पन्थीले भने।

बाँध खोलिने भएपछि महाकाली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए। जिल्लाभरका प्रत्येक वडा कार्यलयहरुमा फोन र एसएमएस गरी सतर्क रहन भनिएको र नदी तटीय क्षेत्रमा रहेका वस्तिहरू खाली गराइएको उनले बताए। धौलिगंगा बाँध खोलिँदा बैतडीमा भन्दा दार्चुलाका भूभाग जोखिममा पर्छन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले अहिलेसम्म कुनैपनि क्षति र जोखिमको जानकारी नआएको बताइन्। अहिले जलसतह खतराको तहमुनी नै रहेको उनले जानकारी दिइन्।

बाँध खोलिने पत्र प्राप्त गरेपछि दार्चुला प्रशासनले पनि सबैलाई सतर्क रहन आग्रह गरेको थियो। ‘बाँध खोलिनुभन्दा चारपाँच दिनअघि नै पत्र आउँछ, त्यसअनुसार हामी सबै पक्षलाई जानकारी गराउँछौं,’ प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्। यसअघि बाँध खोलिएको असार २६ गते पनि क्षति नभएको उनले बताइन्। महाकालीको दार्चुला भेगको तटीय क्षेत्रमा त्यति बसोबास नरहेको र जोखिम धेरै नभएको प्रमुख जिल्ला अधिकारी जोशीले सेतोपाटीलाई जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार