
काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान आफ्नै कार्यालयमा सेयर बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा कुल १० लाख ४८ हजार ४ सय ६८ जनाको आवेदन परेको क्यापिटलले जनाएको छ। जस मध्ये १० लाख ४७ हजार ३ सय ५ को आवेदन मात्र योग्य भएका छन्। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । जस अनुसार १० हजार १ सय १५ जनाले सेयर पाएका छन् । जस मध्ये १ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका छन् ।
कम्पनीले असार २६ गतेदेखि असार २९ गतेसम्म सर्वसाधारणका लागि १०० अंकित मूल्यमा १ लाख १ हजार १ सय ५१ कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा कुथेली बुखरी खोलाको पानी उपयोग गरि ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागगत २४ करोड ७५ लाख ५७ हजार रहेको छ । योजनाको प्रति मेगावाट लागत २४ करोड ८० लाख ५३ हजार हुन आउँछ ।