
विराटनगर : विराटनगर–१२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय मृत्यु भएको छ । राय आइतवार बिहान २ बजे मृत अवस्थामा फेला परेकी छन् । माइती पक्षले पति सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुण्डिएर आत्महत्या गरेको बताएका छन् ।
सुष्मा र सुरजले ४ वर्ष अगाडि प्रेम विवाह गरेका थिए । सुष्माको माइती घर विराटनगर–१२ सैनिक टोलमा हो । उनीहरूका ३ वर्षकी छोरी र ६ महिनाका छोरा छन् । शनिवार दिउँसो सुष्मा र सुरजको झगडा भएको थियो । झगडा भएपछि सुष्माको हात पनि काटिएको माइती पक्षले जनाएका छन् ।
झगडा भएपछि उनी माइती घर सैनिक टोल पनि पुगेकी काका सन्तोष रायले बताए । ‘हामीले सम्झाइबुझाई गरेपछि भतिजी सुष्मा घर गएकी थिइन् आइतबार बिहान २ बजे सुष्माले आत्महत्या गरेको भनेर खबर आयो । त्यसपछि हामी घरमा आइपुग्दा सुष्माको शव खाटमा राखिएको थियो,’ काका सन्तोषले भने, ‘झुण्डिएको भनिएकी भतिजीलाई डोरी खोलेर श्रीमान्ले हस्पिटल पनि लगेको छैन । यदि आत्महत्या नै गरेको थियो भने पनि डोरी खोलेपछि हस्पिटल लानुपर्ने थियो । किन लगिएन ?’
‘झुण्डिएको ठाउँमा खाट छ,’ उनले भने, ‘झुण्डिए पनि खुट्टाले खाट भेटिन्छ ।’ सुष्माको आत्महत्या नभएर योजनाबद्ध तरिकाले हत्या भएको माइती पक्षको आरोप छ । घटनाको निष्पक्ष छानबिन गर्न उनीहरूले माग गरेका छन् ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखाका प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डीएसपी विजय श्रेष्ठको नेतृत्वको टोली पुगेर घटना मुचुल्का उठाएर अनुसन्धान शुरू गरेको छ । घटनाको अनुसन्धान शुरू गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।