
काठमाडौँ : नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।
नेता च्या चुनले आइतबार राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो।
भेटका अवसरमा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रही आएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुऱ्याउने विश्वास व्यक्त गरे।
राष्ट्रपति सी चिनफिङका विश्वासपात्र च्या च्युन प्रचण्डले निकट भविष्यमै गर्न लागेको चीन भ्रमणको तयारीका लागि नेपाल आइपुगेको बताइएको छ। प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने तयारी छ।
चिनियाँ टोली आइतबार बिहान काठमाडौं उत्रिएपछि राजनीतिक भेटघाटमा व्यस्त छ। सो टोलीले शनिबार इटाली पुगेका प्रधानमन्त्री प्रचण्डसँगसमेत जुममार्फत छलफल गरेको छ।