रहेनन् ‘जापान टोकियो’ गीतका गायक लम्साल

२०७९ फाल्गुन २३, मंगलवार ११:२४ बजे

काठमाडौँ : लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० बर्षिय गायकको सोमबार राती निधन भएको उनका भान्जा तथा संगीतकार एवं गीतकार शिव हमालले जानकारी दिए । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) को बुवा हुन् ।

लम्साल पहिल्यैदेखि बिरामी थिए । भान्जा नाता पर्ने संगीतकार हमालका अनुसार राजेन्द्र अत्यधिक मादक पदार्थ सेवन गर्थे । पछिल्लो समय पिसाब सम्बन्धी समस्या देखिएको थियो । आचार्यको पार्थिव शरिरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ । भिडियो छायांकनका लागि पोखरा पुगेका सागर पनि काठमाडौं फर्कँदैछन् ।

राजेन्द्र लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ‘जापान टोकियो’, ‘डोरीको तिन फुदा’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मस्र्याङदीको पुल’, ’आमा तिम्रो दुधको भारा’, ‘राईनासकोटको भिर’, ‘निलो पछ्यौरी’ लगायतका लोकप्रिय गीत हुन् ।

‘जापान टोकियो’ उनको सर्वाधिक हिट गीत हो । गायकको नाम थाहा नपाएपनि धेरैको मुखमा यो गीत अहिले पनि झुण्डिएको छ । उनको निधनमा कलाकर्मीले सामाजिक संजालबाट श्रद्धाञ्जली दिइरहेका छन् । गायिका शिला आलेले बाल्यकालबाटै आचार्यको आवाज सुन्दै आएको भन्दै लेखेकी छिन्, ‘बाल्यकालमा उहाँकै आवाजका गीत सुनेर गाउने प्रेरणा मिल्यो, साह्रै मीठो आवाज अनि मृदभाषी आदरणीय दाजु राजेन्द्र लम्सालको निधनले स्तब्ध छु ।’ लोकगायक रामजी खाँडले पनि श्रद्दान्जली दिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार