शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाइयोस् : प्रधानमन्त्री प्रचण्ड

२०७९ फाल्गुन २३, मंगलवार १२:०० बजे

काठमाडौं : प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गरिएको रिट दर्ता गर्न सर्वोच्चमा आदेश दिइएसँगै माओवादी वृत्तमा तरंग छाएको छ ।

पछिल्लो समय विभिन्न समूहमा छिन्नभिन्न भएका माओवादी नेताहरू विकसित राजनीतिक घटनाक्रमसँगै एकस्वर गरिरहेका छन् । त्यसैअनुरुप आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी घटकका ८ दल भेला भए । उक्त बैठकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिको एकमतले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको बैठकले राज्यसँग विभिन्न समयमा भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिएको छ । बैठकपछि ८ नेताको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकारसँग माग गरिएको छ । जबकि हस्ताक्षरकर्तामध्येका एक प्रचण्ड स्वयं अहिले प्रधानमन्त्रीको कुर्सीमा छन् । वक्तव्यमा पनि प्रचण्डले प्रधानमन्त्रीकै हैसियतमा हस्ताक्षर गरेका छन् । शान्ति प्रक्रियापश्चात प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।

‘संक्रमणकालीन न्यायको प्रक्रियाविपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं । शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ‘, विज्ञप्तिमा भनिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार