बझाङमा घरभित्र सुतिरहेका आमा र बच्चामाथि चक्कु प्रहार

२०८० भाद्र ५, मंगलवार

बझाङ : बझाङ सदरमुकाम चैनपुरमा घर (डेरा)भित्र सुतिरहेको अवस्थामा आमा र बच्चामाथि अज्ञात व्यक्तिले छुरा प्रहार गरेका छन्। चैनपुरको प्रसाशन रोडस्थित चौगाउँटोलमा सोमबार राति आमा–बच्चा गरी ३ जनामाथि आक्रमण भएको हो। छुरा प्रहारबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी २७ वर्षीया सुनिता विक र उनका २ छोराहरु ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका छन्। राति १२ बजेतिर मास्कले अनुहार ढाकेका एक व्यक्ति कोठा भित्र प्रवेश गरेको आफूहरुमाथि आक्रमण गरेको सुनिताका श्रीमान् कलक विकले बताएका छन्।

कलकका अनुसार अनुहार छोपेर आएका व्यक्तिले सुरुमा बच्चालाई छुरा प्रहार गरेका थिए। बच्चाहरु रोएको सुनेपछि सुनिता उठेकी थिइन्। ‘बच्चाहरु रोएपछि श्रीमति उठिन्। उनलाई पनि छुरा हानेछ। उनीहरु कराउन थालेपछि मोबाइल लगेर भागेको रहेछ,’ कलकले भने घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। छुरा प्रहारबाट सुनिताको घाँटी र छातीमा चोट लागेको छ। बच्चाहरुको अनुहार, छाती, घाँटी र पिठ्यूमा अन्धाधुन्ध छुरा प्रहार गरिएको छ।

जिल्ला अस्पताल बझाङका प्रमुख डा नवराज जोशीले ३ जनाको उपचार जारी रहेको जानकारी दिए। उनीहरुको अवस्था अहिले खतरामुक्त रहेको डा जोशीको भनाइ छ। उच्च सुरक्षा निगरानी रहने भनिएको जिल्ला सदरमुकामको, प्रशासन रोडमा नै घरभित्र पसेर चक्कु प्रहार भएपछि स्थानीयहरु त्रसित बनेका छन्। प्रहरीको २४सै घण्टा गस्ती हुने भनिएको ठाउँमा आक्रमण हुनुले स्थानीयहरु त्रसित बनेका हुन्। प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी जागेश्वर भण्डारीले घटनाका सन्दर्भमा गम्भीर रुपमा अनुसन्धान भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार