आमाको मृत्युपछि नर्स र गार्डमाथि आक्रमण : आमाको शव अस्पतालमा, छोरा हिरासतमा

२०८० भाद्र ५, मंगलवार

चितवन : उपचारको क्रममा आमाको मृत्यु भएपछि चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा छोराले नर्स र सुरक्षा गार्डलाई हातपात गरेका छन् ।

मकवानपुरको हेटौँडा घर भएकी ५३ वर्षीया आमा पार्वती सुनारको उपचारका क्रममा मृत्यु भएपछि उनका छोरा रोशनकुमार सुनारले अस्पतालकी नर्स र सुरक्षा गार्डमाथि हातपात गरेका हुन् ।

फोक्सोको क्यान्सर भएर अस्पतालको सघन उपचार कक्षमा उपचाररत पार्वतीको सोमबार साँझ मृत्यु भएको थियो । काठमाडौँमा उपचार गरेपछि थप उपचारको लागि रिफर गरि आइतबार यहाँ ल्याइएको थियो ।

सोमबार साँझ ६ः१५ बजेतिर आमाको अन्तिम अवस्था थाहा पाएपछि छोरा सुनार आइसियूमा पटक–पटक आउने जाने गरिरहेका थिए । केहीबेरमा डाक्टरले आमाको मृत्यु भएको बताए । आमाको मृत्युले विह्वल छोरा रोशन पटक पटक आइसियूमा आउनेजाने गर्दा जुत्ता खोलेर, गाउन लगाएर जान आइसीयूमा ड्यूटी रहेकी नर्स जस्मिना श्रेष्ठले अनुरोध गरेकी थिइन् ।

त्यहाँ कार्यरत एक कर्मचारीले भनिन्, यसरी बाहिरको जुत्ता लगाएर आउन मिल्दैन खोलेर आउनुहोस् अनि गाउन पनि लगाएर आउनुस्, भनेर आग्रह गरेकी थिइन् । यत्तिकैम आवेशमा आएर रोशनले नर्सलाई गालामा झापड हाने ।

त्यसपछि पनि उनको आक्रमण रोकिएन अझ पञ्चिङ मेसिन उठाएर हान्न लागेपछि एकछिन भागाभाग समेत भयो । नर्स श्रेष्ठलाई मेसिनले भने नलागेको उनले बताए । नर्स र सुरक्षाकर्मीमाथि हातपात भएको विषयमा अस्पतालबाट आधिकारिक भनाइ भने सार्वजनिक भएको छैन ।

त्यसपछि आइसियूका डाक्टर तथा नर्सले समाउन लाग्दा भागेका उनलाई मूल गेटका सुरक्षा गार्डले समाउन खोज्दा ब्लेड निकालेर उनको पनि हात काटिदिएका थिए । चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले आमाको मृत्युपछि नर्स र सुरक्षा गार्डलाई कुटपिट गरेको जानकारी पछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार सोधपुछका लागि गएराती नै पक्राउ गरिएका २६ वर्षका रोशन अहिले पनि प्रहरी नियन्त्रणमा नै छन् । आमाको शवको दाहसंस्कारको लागि पनि उनी जान पाएका छैनन् । रोशनलाई कारबाहीको माग गरि प्रहरी कार्यालयमा अहिलेसम्म उजुरी भने नआएको प्रवक्ता डिएसपी पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार