तामाङले चितुवासँग भिडेर ज्यान जोगाए

२०८० भाद्र ७, बिहीबार

काठमाडौं : काठमाडौंको कीर्तिपुरमा गएराति चितुवाको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। 

कीर्तिपुर नगरपालिका ४ थापागाउँमा अवस्थित कुखुरा फार्ममा प्रवेश गरेर गएराति १ बजे चितुवाले आक्रमण गर्दा फार्म सञ्चालक ३८ वर्षीय कुन्निप्रसाद तामाङ घाइते भएका हुन्। चितुवाको आक्रमणबाट दुबै हात र दुबै खुट्टामा गम्भीर चोट लागेका तामाङको हाल वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी वृत्त कीर्तिपुरका वरिष्ठ सई हस्तबहादुर तामाङले जानकारी दिए। 

‘आफू घाइते भएपनि उहाँले चितुवालाई कुखुरा फार्मभित्रै थुनेर राख्नु भएको छ,’ तामाङले भने, ‘हामी चितुवालाई उद्धार गर्ने प्रयास गरिरहेका छौँ।’चितुवालाई काठमाडौँको हात्तीसारबाट गएको वनको प्राविधिक टोलीले डार्ट गरेर (लठ्ठिने सुई लगाएर) नियन्त्रणमा लिने तयारी गरिरहेको उनले जानकारी दिए। 

कुखुरा फार्ममा कुरुवा बसेको बेला राति कुखुरा खान आएको चितुवाले तामाङलाई आक्रमण गरेको हो। रसुवाको छोधोङ्मो गाउँपालिका २ घर भएका तामाङले कीर्तिपुरमा जग्गा लिजमा लिएर कुखुरा फार्म सञ्चालन गर्दै आएका छन्। चितुवाले आक्रमण गर्न थालेपछि आफूले प्रतिकार गरेर ज्यान जोगाएको तामाङले बताएका छन्। प्रतिकारको क्रममा आफूले पनि चितुवालाई लाठीले हानेको तामाङले बताएका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार