गुप्तचरका जवान मृत्यु प्रकरण : सँगै वनभोज जानेहरुसँग बयान लिँदै प्रहरी

२०७९ फाल्गुन २४, बुधबार १४:५३ बजे

काठमाडौं : बैतडीमा माछा मार्न र वनभोज खान गएका राष्ट्रिय अनुसन्धान विभागका जवान मृत भेटिए । फागुन २२ मा मृत भेटिएका जीवन बुडाल बझाङमा सूचक पदमा कार्यरत थिए । 

बिदामा घर गएका जीवन बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका स्थानीय हुन् । बुडाल आफ्ना साथिहरुसँग दोगडाकेदार–४ जाडाबगडमा वनभोज खान गएका थिए ।  उनको शव चौलानी नदीको बिच भागमा भेटिएको थियो । पिकनिक मनाउने र माछा मार्ने योजना सहित साथिहरुसँग उनी चौलानी नदी क्षेत्रमा गएका हुन् ।

सँगै माछा मार्न गएका १२ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुले प्रहरीसँग भनेका छन्,‘भान्सा एकातिर थियो, बुडाल एक्लै माथितिर गएका थिए ।’ पक्राउ पर्नेमा उनीसँगै गएका गजेन्द्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट, टेक खत्री र मोहन ठगुन्ना छन् । 

पक्राउ परेकाहरुविरुद्ध मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । पक्राउ गरिएकाहरुसँग सोधपुछ भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिएसपी भरत बहादुर चौधरीले बताए । उनी भन्छन्–‘आरोपीहरुसँग सोधपुछ गरिरहेका छौं ।’

चौलानी नदीमा माछा मार्न उनीहरूले विष्फोटक पदार्थ पनि प्रयोग गरेको भेटिएको छ । प्रहरीले घटनास्थलबाट विष्फोटक पदार्थ पनि बरामद गरेको छ ।  जिल्ला अस्पतालमा पोष्टमार्टम पछि आफन्तले मृतकको शव बुझेका छन् । मृत्युको कारण पत्ता लगाउन ‘भिसेरा’ को नमुना परीक्षण गर्न काठमाडौँमा पठाएको बैतडीका डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार