मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट

२०७९ फाल्गुन २४, बुधबार १५:१८ बजे

काठमाडौँ  : मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए । उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले बताए । “पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ”, उनले भने ।

निर्देशनालयले यसअघि विच्छाइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनःपरीक्षण गरिने उनको भनाइ छ । “अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ”, उनले भने । नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ । उपत्यकामा झण्डै एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ । पहिलो कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको हो ।

नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौँमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ । सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानीको वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार