नारी दिवसमा महिला कैदीबन्दीलाई टेलिभिजन

२०७९ फाल्गुन २४, बुधबार २०:२७ बजे

तनहुँ : एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला कैदीबन्दीका लागि टेलिभिजन प्रदान गरिएको छ । जिल्ला कारागार तनहुँमा रहेका महिला कैदीबन्दीलाई समसामयिक गतिविधि हेर्न र बुझ्न सहज बनाउने उद्देश्यले व्यास नगरपालिकाले टेलिभिजन प्रदान गरेको हो ।

महिला कैदीबन्दी रहेको ब्लकमा टेलिभिजन नभएको र उनिहरूलाई समसामयिक गतिविधि जान्ने अधिकार प्राप्त भएको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । “महिला कैदीबन्दीका लागि टेलिभिजन नगर उपप्रमुख इन्दिरा दरैलगायत व्यास नगरपालिकाका जनप्रतिनिधिले आज कारागारलाई हस्तान्तरण गरेका छन्”, अधिकारीले भने । नगरपालिकाले ३२ इन्चको टेलिभिजन महिला कैदीबन्दीको ब्लकका लागि सहयोग गरेको उनले बताए । महिला बन्दीगृहमा रहेर विविध मुद्दामा कैद सजाय भोगिरहेका कैदीबन्दीलाई देशको गतिविधि तथा खेलकुदका गतिविधि हेर्न, बुझ्न पाउने अधिकारलाई पूर्ति गर्न नगरपालिकाले सहयोग गरेको व्यास नगरपालिकाका उपप्रमुख दरैले जानकारी दिए ।

“केही दिनअघि मात्रै कैदीबन्दीको अवस्था अनुगमन गर्ने क्रममा महिला कैदीबन्दीले माग गरेपछि आज सहयोग गरेका हौँ”, उपप्रमुख दरैले भने, “गल्तीको सजाय भोगिरहेका कैदीबन्दीले मानवअधिकारअुनसारको सेवा पाउनुपर्छ भनेर नगरपालिकाबाट सहयोग गर्ने व्यवस्थापन गरेका हौँ ।” जिल्ला कारागार तनहुँमा तीनवटा ब्लकमा कैदीबन्दी रहेका छन् । ए र बी ब्लकमा पुरुष कैदीबन्दी रहेका छन् भने सी ब्लकमा महिला कैदीबन्दी राखिएको छ । महिला १६ र पुरुष दुई सय ८६ कैदीबन्दी रहेको जिल्ला कारागार तनहुँले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार