उपमेयर रनिङ कपको उपाधि आठराई त्रिवेणीलाई

२०७९ फाल्गुन २४, बुधबार २१:११ बजे

ताप्लेजुङ : ताप्लेजुङमा बुधबार सम्पन्न उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा फुङ्लिङ नगरपालिकालाई २–१ को गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि हात पारेको हो ।

विजेता भएसँगै आठराई त्रिवेणी गाउँपालिकाले नगद रु एक लाख ११ हजारसहित तीन वर्षे रनिङ कप र प्रमाणपत्र प्राप्त गरेको छ । रनिङ कप एक सय तोला चाँदी र आधा तोला सुन जडित रहेको आयोजकले जनाएको छ । यता उपविजेता बनेको फुङ्लिङ नगरपालिकाले भने रु ५५ हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै प्रतियोगिताको तृतीय स्थानमा रहेका सिरिजङ्घा र मेरिङ्देन गाउँपालिकाको टिमलाई नगद रु नौ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजेता टिमलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा लगायतले संयुक्तरूपमा पुरस्कार वितरण गरे ।

विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फुङ्लिङ नगरपालिकाले आयोजना गरेको प्रतियोगिता यही फागुन २१ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा जिल्लाको मैवाखोला गाउँपालिकाबाहेकका सबै स्थानीय तहबाट खेलाडी सहभागी भएका थिए । खेल क्षेत्रमा महिलाको उपस्थिति वृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझाले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार