तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्

२०७९ फाल्गुन २४, बुधबार २१:५४ बजे

चौतारा : तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो ।

दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिक लगायतका ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेवापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पा बताउछन । यहाँ काम गर्ने मजदुरको आफ्नो जग्गाजमिन छैन । सम्पूर्णरूपले ट्रान्सपोर्टको ज्याला मजदुरीमा निर्भर उनीहरू यही कामबाट परिवारको पेट पाल्छन् । पुरानो ज्याला पाइहालिन्छ कि भनेर अहिले पनि आफू दिनभर खटेर सामान ओसारपसार गरिरहेको तर साँझ रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठ दुःखेसो पोख्छन ।

अचेल तातोपानी नाकाबाट सामान आयातमात्रै हुन्छ । चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन् । दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पा बताउछन । ज्याला पाउने आश्वासनमा मजदुरहरूले वर्ष दिन बिताइसके ।

तर कम्पनीले कहिले ज्याला चुक्ता गर्छन् निश्चित छैन । दैनिक भन्सारमा आएर पसिना चुहाउँदै काम गर्ने तर साँझ रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गराइदिन नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार