आइएमई लाइफको आइपिओ असार १ देखी विक्री खुला

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौं : आइएमई लाइफले पहिलो पटक प्रिमियममा आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ अङ्कित मूल्य १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो । 

आगामी असार १ गतेबाट आइएमई लाइफले जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो । कम्पनीले मङ्गलवार नेपाल धितो पत्र बोर्डबाट प्रिमियम मूल्यमा आइपिओ निष्कासनका लागि अनुमति पाएको हो ।

आइएमई लाइफले नेपाली बीमा क्षेत्रको पहिलो प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने कम्पनी बनेको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित आइपिओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने भएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

आइएमई लाइफले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा १८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ सञ्चिति रहेको छ । यस्तै, जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ । त्यसैसरि कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्क १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार