
काठमाडौँ : नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् ।
बिहीबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेम्वाङ सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन् । उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताए ।
उनले नेम्वाङले दलिए स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको बताए । अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानुन उल्लङ्घन गर्नु नहुने मान्यतामा रहेको बताए ।
उनले भने ‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँ चुनिएपछि वास्तवमै दलिए स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमानदारिता र कानुनको हिसाबले चल्नुपर्छ । आफूले आफैँलाई पनि कानुनमा बाँध्नुपर्छ । कानुनको उल्लङ्घन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । र उहाँ एउटा सफल राजनेताको रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो ।’
अध्यक्ष ओलीले नेम्वाङ सामुदायिक विद्वेषको विरुद्धमा रहेको बताए । उनले नेपालको विविधतायुक्त नेपाली समाजलाई राम्रोसँग चिनेको ओलीको भनाई छ । नेम्वाङ सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहेको उनले बताए ।
उनले भने ‘उहाँ सामुदायिक विद्वेषजस्ता कुराहरूका विरुद्धमा । उहाँले नेपाल चिन्नुभएको थियो । नेपाली जनता चिन्नुभएको थियो र उहाँ विविधतायुक्त नेपाली समाज, विविधतालाई गलत ढङ्गले प्रयोग नगर्ने उहाँ सधैभरी सामाजिक सद्भावको पक्षमा, सामाजिक न्याय र सामाजिक न्यायमा आधारित सद्भाव र त्यसमा आधारित राष्ट्रिय एकताको पक्षमा हुनुहुन्थ्यो ।’
स्वर्गीय नेम्वाङ सधैँभर न्यायको पक्षमा उभिएको अध्यक्ष ओलीले स्मरण गरे ।