शाहरुखको ‘जवान’ले दुई नेपाली फिल्मलाई सकस, थोरै शोबाट लगानी उठ्छ त?

२०८० भाद्र २८, बिहीबार

काठमाडौं :जब जब बलिउडका ठूलो बजेटका फिल्म प्रदर्शनमा आउँछन् तब नेपालका सिनेमाघरहरुमा नेपाली फिल्मले नै पर्याप्त शो पाउँदैनन्। नाम चलेकै नेपाली कलाकारको अभिनय भएकै फिल्मले पनि ठूलै मिहिनेत गर्नुपर्छ सिनेमा हलमा शो पाउन। अहिले शाहरुख खानको फिल्म ‘जवान’ प्रदर्शनरत् रहँदा नेपाली सिनेमा चेपुवामा परेका छन्।

शुक्रबारबाट नेपाली सिनेमाहलमा दुई स्वदेशी फिल्म प्रदर्शन हुँदैछन्। दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ र झरना थापाको ‘एक भागवत र एक गीता-सामाजिक कथा’। एकआपसमा जुध्‍न लागेका यी दुवै फिल्ममा चर्चित कलाकारहरु फिचर्ड छन्।

‘एक भागवत र एक गीता’ मा विपिन कार्कीसहित धिरज मगर र सुहाना थापाको अभिनय छ। त्यसैगरि, ‘नाङ्गो गाउँ’मा भने ‘कबड्डी ४’ को चर्चित जोडी दयाहाङ राई र मिरुना मगरसहित कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ।

निर्देशकसहित कलाकारहरुको राम्रो लाइनअप हुँदा पनि यी फिल्महरु विदेशी फिल्मको चेपुवामा परेका छन्। बलिउड फिल्म ‘जवान’ र हलिउड फिल्म ‘द नन २’ को दबदबा नेपाली सिनेमाहलमा जारी छ। जसकारण नेपाली फिल्मले न्यून शो पाएका हुन्।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सका हलहरुमा पनि नेपाली फिल्महरुले कम शो पाएको छ। ‘जवान’ले उपत्यकाभरका हलमा ३३ शो पाउँदा ‘नाङ्गो गाउँ’ले १२ शो पाएको छ शुक्रबार। ‘एक भागवत र एक गीता’ले मात्र ११ शो पाएको छ।

अन्य मल्टिप्लेक्स हलहरुमा पनि नेपाली फिल्मले कम शो पाएको देखिन्छ। वान सिनेमाजमा शुक्रबार ‘जवान’ले १० शो पाउँदा दुबै नेपाली फिल्मले ७/७ शो उपलब्ध गराएको छ। दयाहाङको फिल्मले बिग मुभिजमा मात्र ४ शो पाउँदा विपिनको फिल्मले ५ शो पाएको छ। शाहरुख खानको ‘जवान’लाई पाँच शो उपलब्ध गराइएको छ।

त्यस्तै, चाबहिलस्थित एफक्युब सिनेमामा भने ‘नाङ्गो गाउँ’ ले ६ शो पाउँदा ‘एक भागवत र एक गीता’ ले ३ शो पाएको छ। एफक्युबमा ‘जवान’लाई शुक्रबारका लागि ५ शो उपलब्ध गराइएको छ।

नेपाली फिल्मले धेरै शो पाउलान ?

शुक्रबारबाट रिलिज हुने नेपाली फिल्महरुले गत सातादेखि नै प्रदर्शनमा रहेको फिल्महरुभन्दा कम शो पाउँदा नेपाली सिनेकर्मीले अचम्म भने मानेका छैनन्। शाहरुख खानको फिल्मसँग जुध्दा स्वाभाविक रुपमा शो कम भएको बताउँछन् निर्देशक तथा लेखक दीपेन्द्र लामा।

उनका अनुसार ‘नाङ्गो गाउँ’ले देशभर शुक्रबारबा लागि मात्रै १२० शो पाएको छ। दुई नेपाली फिल्म जुध्दा पनि कम शो पाएको उनले सुनाए।

‘अहिले नेपाली हलमा जवान राम्रो चलिरहेको छ। त्यसको प्रभाव शोमा परेको हो। त्यसमाथि एकै दिन दुई फिल्म जुध्दा पनि शो बाँडिएर कम देखिएको हो,’ उनले भने।

आफ्नो फिल्मले पाएको शो प्रति भने उनी सन्तुष्ट छन्। तर शुक्रबारबाट फिल्मले राम्रो गरे पनि शो नपाए पनि त्यो चिन्ताको विषय हुने उनले सुनाए। शुक्रबारको व्यापार र माउथ पब्लिसिटीले राम्रो हुँदा आफ्नो फिल्मको शोहरु स्वत: बढ्नेमा उनी आशावादी छन्।

उनले भने, ‘अहिले पाएको जति शोमा सन्तुष्ट छु। तर, नेपाली फिल्मले राम्रो गर्दा पनि शो दिएनन् भने सोच्नुपर्छ।’

पछिल्लो समय नेपाली फिल्मले बक्सअफिसमा कमाल गर्न सकेका छैनन्। वैशाख १ गते रिलिज भएको दयाहाङ र मिरुना अभिनित फिल्म ‘जारी’ पछि कुनै पनि फिल्मले लगानी सुरक्षित गर्न सकेका छैनन्। यस्तो अवस्थामा ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ लगानी सकस देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार