
काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई आज दिउँसो पौने २ बजे भारत प्रस्थान गर्ने भएका छन् । पार्टीको प्रवास कमिटीको निमन्त्रणामा डा भट्टराई ७ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तर्क्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने डा. भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार भारत बसाईका क्रममा डा भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग भेटघाट गर्ने कार्यक्रम छ । डा. भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुने पोखरेलले जानकारी दिए । डा. भट्टराई असोज ५ गते साँझ ६ः१० बजे स्वदेश फर्कनेछन् ।