
गोरखा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसदले संसद्को गौरव बढाएको दाबी गरेका छन् । शनिबार गोरखा सदरमुकाममा भएको सभालाई सम्बोधन गर्दै लामिछानेले वेथिति र विसंगतीविरुद्ध संसद्मा क्षमतावना र योग्य संसाद गर्जिरहेको बताए ।
‘नेपालको संसद्को गौरव कसैले बढाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी बनेकाहरुले बढाएका छन्, २१ जना सांसद टाउकोधारी मात्र होइनन् देशलाई माया गर्ने मान्छे हुन् । विषय विज्ञता छ, के बोल्ने के नबोल्ने थाहा छ, के भन्ने के नभन्ने थाहा छ,’ उनले भने,‘वेथिति विसंगतीविरुद्ध क्षमतावान र योग्य सांसद गर्जिरहेका छन्, यो संख्या बढाउनुपर्छ अब ।’
यस्तै पछिल्लो समय युवाशक्ति विदेशिने क्रम बढेको भन्दै नेता लामिछानेले चिन्ता व्यक्त गरेका थिए । ‘त्रिभुवन विमानस्थलबाट देश छाड्नेको लर्को लागेको छ, यो दृश्य देख्दा लाग्छ मानौं युद्धभय रहेको छ, युद्धग्रस्त देशबाट कतिखेर भागौं भनेर जसरी लाइनबद्ध भएर तँछाडमछाड गरिरहेका छन् । हो हाम्रो अन्तर्राष्टिय विमानस्थलको दृश्य त्यस्तै छ,’ उनले भने,‘न यो देशमा युद्ध भइरहेको छ तर पनि मान्छेहरु भागेको दृश्य त्यस्तो छ, २०८४ सम्म कति मतदातालाई पठाउनुपर्ने होला !’
आफ्नो पार्टीले सुरुवाती दिनदेखि नै विदेशमा रहेका नेपालीहरुको पनि मताधिकार सुरक्षित हुनपर्छ भनेर आवाज उठाएको भन्दै उनले उक्त आवाज संसद्मा विधेयकको रुपमा आउँदै गरेको बताए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई तारो बनाएर भ्रम सिर्जना गर्न केही मान्छेहरू लागिपरेको उनको आरोप थियो । सभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले र तोसिमा कार्कीले पनि सम्बोधन गरेका थिए ।