
काठमाडौं : गए राति काठमाडौंको गह्रीगाउँमा भएको सामूहिक हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ । प्रहरीले गए राति गह्रीगाउँस्थित दिव्य स:मिलमा हत्याएको सूचना पाएपछि त्यहाँ पुगेको थियो ।
मिलमा सुरक्षागार्ड रहेका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका नविन राईको हत्या भएको थियो । प्रहरीलाई हत्याको सूचना दिन प्रहरी वृत्त बानेश्वर पुगेका २८ वर्षीय दिपेन्द्र राई नै यो विभत्स अपराधका संदिग्ध देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनास्थलको अवस्था अनुसन्धान गर्नेक्रममा तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको थियो । कुकुरकै सहयोगमा प्रहरीले सो हत्यामा प्रयोग भएको हतियार फेला पारेको हो । काठमाडौं प्रहरी परिसरका अनुसार खुकुरी र एक घरेलु धारिलो हतियार फेला परेको छ ।
प्रहरीलाई सूचना दिन आएका दिपेन्द्र रगत लतपतिएरै बानेश्वर वृत्त पुगेका थिए । अहिले उनी प्रहरीको हिरासतमा छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।