
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर राख्ने र गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘आज गठबन्धनलाई धारे हात लगाएर, यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु’, उनले भने, ‘त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो ।’
अहिलेको गठबन्धन निर्माणमा आफूहरुको अग्रणी भूमिका रहेको भन्दै उनले कसैले तानेर गठबन्धनमा नल्याएको जिकिर गरे । त्यसैले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि आफूहरुको रहेको अध्यक्ष नेपालले बताए ।
‘हामीले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्छ । कमजोरी भएका छन् भने आलोचना गर्न सकिन्छ । बेठीक भए त्यसको आलोचना गर्न सकिन्छ । आलोचना गर्नु भनेको कमजोरीलाई सुधार गर्नका लागि हो, मिलेर अघि बढ्नका लागि हो’, उनले भने ।