
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन्।
मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। उनले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावि पुस्तासम्म पुर्याउन आवश्यक रहेको पनि बताए।
उनले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रुपमा मानेको नेता भएको बताए। उनले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको स्मरण गरे। उनले प्रतिक सहितको गणेशमान पार्कले उनको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउने विश्वास लिएको बताए।
राष्ट्रपति पौडेलले गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गरे। उनले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताए। उनले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएको बाटोमा हिँड्नसक्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताए।
‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रुपमा मान्छु। नेपालमा एउटा नेता गणेशमान सिंह हो। एक पटक सम्पूर्ण नेपालीले नेता माने। वामपन्थि र कांग्रेस नभनि सबैले मानेको नेता उहाँ नै हो। राजनीतिलाई सत्ता र शक्तिको साधन होइन। राष्ट्र निर्माणको लागि जीवन सर्मपण गर्ने आदर्श त्याग र निष्ठाको निस्काम कर्महरु भनेर प्रमाणित गर्ने गणेशमानको सन्देश हामीले वर्तमान र भावि पुस्तासम्म पुर्याउन सक्नुपर्छ। वाटिकाले गणेशमानको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउँछ। उहाँको साथ र समिप्यता मेरो राजनीतिक जीवनमा पनि पाएँ’, उनले भने।
उनले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवन शैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने पनि बताए। उनले गणेशमान पार्कलाई नेपालमा आउने पर्यटकहरुलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न आग्रह गरे।
‘मलाई सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको छ। लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन। जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्यौं भने मात्रै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘यस्ता महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवनशैलीका उपत्यकावासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने मैले देखेको छु। नेपालमा आउने पर्यटकहरुलाई नेपालको जानै पर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्नुहोला।’
राष्ट्रपति पौडेलले भक्तपुरवासीको लागि गणेशमान सिंहको प्रतिक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको बताए। उनले गणेशमान सिंह पार्कले भक्तपुरको भाग्य कोर्न मद्दत गर्ने बताए। उनले पार्कले भक्तपुरको पर्यटन विकासलाई महत्वपूर्ण योगदान गर्ने बताए।