
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
स्वर्गीय रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट उनले गहिरो समवेदना प्रकट गरेका छन् ।
रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विसं २०२७ कात्तिकमा जन्मेका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा परेका थिए ।
रिजाल कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ को क्षेत्रीय सभापति र कामनपा–१६ को वडाध्यक्ष पदमा दुईपटक निर्वाचित भएका थिए । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका उनले मानव अधिकारवादी सङ्घ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए । उनको निधनबाट कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ । रासस