

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिएको छ।
धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। विगत चार दिनदेखिको निरन्तरको कर्फ्युले मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ। कर्फ्युको कारण सदरमुकाम मलंगवा विगत चार दिनदेखि सुनसान छ।
गएको बिहीबार साँझदेखि मलंगवामा यातायात, बजार, पसल, कलकारखाना, सरकारी कार्यालय, होटल, स्कुल कलेज खुलेका छैनन्। अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
‘यहाँ अझै पनि सुरक्षा सम्बेदनशीलता छ,’ सीडीओ यादवले भने, ‘त्यही भएर अहिले नै कर्फ्यु हटाउने अवस्था छैन।’