

विराटनगर : सिल प्याक गरेर बिक्रीका लागि बजारमा पठाएको ग्यास सिलिण्डर खाली भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।
मोरङको बुढिगंगामा रहेको कोशी ग्याँस उद्योगले बिक्रीका लागि बजार पठाएको सिलप्याक सिलिण्डर खाली भेटिएपछि आइतबार दुई लाख रुपैयाँ जरिवाना गरेको हो । विराटनगर–९ ट्राफिक चोकमा उपभोक्ताले खरिद गरेको सिलप्याक सिलिन्डर खाली भेटिएको थियो ।
विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट खरिद गरेको ग्यास सिलिण्डर खाली भएको पाएपछि उपभोक्ताले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा गुनासो गरेका थिए । कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार अनुगमन गर्दा गडबढी देखिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
उद्योगले लापरवाही गरेको देखिएपछि जरिवाना गरेको बस्नेतले बताए । डिलर सञ्चालक केशव श्रेष्ठले उद्योगबाट आएको सिलप्याक ग्याँस आफूले बिक्री गरेको बताएका छन् । कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले उद्योगबाट सही तरिकाले उद्योगले बजारमा सिलिण्डर पठाएको दाबी गरेका छन् ।