लमजुङ अस्पतालमा डाक्टरमाथि हातपात‚ आरोपित वडाध्यक्ष पक्राउ

२०८० आश्विन ८, सोमबार

लमजुङ : लमजुङ अस्पताल लमजुङमा डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले बेंसीसहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतलाई पक्राउ गरेको छ । घटना आइतबार राति भएको हो । प्रहरीका अनुसार आफ्नी आमालाई उपचारार्थ भर्ना गर्ने क्रममा डाक्टरसहितका स्वास्थ्यकर्मीसँग विवाद हुँदा बस्नेतले मेडिकल अधिकृत डा. सन्दीप अधिकारीमाथि हातपात गरेको आरोप छ । 

प्रहरी निरीक्षक थानेश्वर चपाइँका अनुसार वडाध्यक्ष बस्नेतलाई राती साढे १ बजेतिर पक्राउ गरिएको हो । ‘बिरामी भर्ना गर्ने बेला भनाभन भएको र वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको बुझिएको छ‚’ उनले भने । बस्नेतमाथि कारबाही माग सोमबार जिल्ला प्रहरीमा जाहेरी परेको छ ।

लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले आमालाई भर्ना गर्ने क्रममा वार्डको नर्सिङ स्टेसनमा वडाध्यक्षले डाक्टरमाथि हातपात गर्दै नर्सलगायत कर्मचारीमाथि अपशब्द बोलेको बुझिएको बताए । ‘डा. सन्दीप ड्युटीमा हुनुहुन्थ्यो । वडाध्यक्षले आमाको भर्नामा मञ्जुरीनामा नगर्ने भनेपछि विवाद भएको बुझिन्छ । मञ्जुरीनामा गर्न अनुरोध गर्दा नमानेको र उल्टै डाक्टरमाथि हातपात गर्नुभएछ‚’ उनले भने ।

डा. तिवारीका अनुसार बिरामी भर्ना गर्दा बिरामी वा आफन्तले मञ्जुरीनामा गर्नुपर्छ । राती साढे १० बजेपछि उक्त घटना भएको हो । पीडित डा. अधिकारीसहित अन्य ९ जनाले प्रहरीमा जाहेरी दिएको मेसु तिवारीले बताए । लमजुङको बेंसीसहर-१ उदिपुर घर भएका डा. अधिकारी तीन महिना अघिमात्रै लमजुङ अस्पताल आएको तीन महिना मात्रै भएको छ ।

वडाध्यक्ष बस्नेतले भने बिरामी भर्ना लिन नमानेर अन्तै लैजानु भनेपछि विवाद हुँदा आफूले चर्को आवाज मात्रै गरेको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो घटना कोही कसैबाट पनि हुन नहुने बताए । घटनाका विषयमा दल, पीडितपक्ष, अस्पताल समितिबीच छलफल भएको छ । ‘यो छलफलले टुंगो लगाउने विषय त पक्कै पनि होइन‚’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा मुद्दामा जानुपर्ने देखेपछि पीडित प्रहरीमा जानुभएको छ । बाँकी अनुसन्धानमा देखिएला ।’

चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन’ विरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । बस्नेतविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार