

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आफू काटिएर कांग्रेसका नेतालाई जोगाएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री यादवले भने, ‘मेरो हत्या प्रयास गर्ने व्यक्ति (श्यामबहादुर सापकोटा)का बारेमा बुझ्न पूर्व इन्सपेक्टरलाई जेलमा पठाएको थिएँ । त्यो मान्छेले महेन्द्र यादव भन्ने मान्छेलाई मैले चिनेको पनि थिएन । तर कांग्रेसका नेतालाई काट्न पाँच दिनदेखि झोलामा खुकुरी बोकेर हिडेको थिए । जुनसुकै कांग्रेसी परेपनि म काट्थे भनेर त्यो मान्छेले भन्यो ।’
सहमहामन्त्री यादवले खुकुरी प्रहारले निकै पीडा दिएपनि आफ्नै पार्टीका अरु नेताहरु काटिनबाट जोगिँदा खुसी लागेको बताए ।
‘म सात दिन अस्पतालमा बस्दा दुःख त लाग्यो । चोटले पीडा भयो । तर खुसी यस अर्थमा लाग्यो कि अरु कांग्रेसी काटिनबाट मैले जोगाएँ । म आफू काटिएर अरु साथीहरुलाई जोगाए,’ सहमहामन्त्री यादवले भने ।
भदौ २० गते भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको थियो । नुवाकोटका सापकोटाले भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लवको एक कार्यक्रममा सहभागी भएका यादवमाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट यादवको टाउको र गर्धनमा गम्भीर चोट लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भएको थियो भने आक्रमण गर्ने सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
उनले कांग्रेस नेतामाथि भइरहेको सुनियोजित आक्रमणका बारेमा गम्भीर हुने बेला आएको बताए । ‘किन कांग्रेसीमाथि नै आक्रमण गरियो, यसका बारेमा गहन अनुसन्धान हुन जरुरी छ । यसका बारेमा सभापतिलाई आग्रह गर्दछु । आज देशमा जति विकास भएको छ, त्यो कांग्रेसकै कारण भएको हो । तर पनि किन कांग्रेसमाथि नै आक्रमण ?’ उनले भने ।
देशमा प्रतिगामी शक्तिहरुको पहिलो टार्गेट नै कांग्रेस बनेको भन्दै गम्भीर हुन जरुरी रहेको बताए ।