मलंगवामा कर्फ्यु उल्लंघन गर्ने ३५ जना हिरासतमा

२०८० आश्विन ९, मंगलवार

सर्लाही : स्थानीय प्रशासनले कर्फ्यु हटाएपछि सर्लाही सदरमुकाम मलंगवाको अवस्था क्रमशः शान्त बन्दै गएको छ। गएको बिहीबार रातिदेखि मलंगवामा जारी गरिएको कर्फ्यु हिजो बिहानबाट आंशिक रुपमा हटाइएको छ।

दिनभरको लागि कर्फ्यु हटाए पनि रातिको लागि भने अनिश्चितकालीन कर्फ्यु कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हरेक दिन रातको ८ बजेदेखि बिहान ४ बजेसम्मको कर्फ्यु भने अनिश्चित कालका लागि जारी रहेको जानकारी दिए। 

कर्फ्यु हटाएपछि सोमबार मलंगवामा पसल र यातायात आंशिक रुपमा खुलेका थिए। आज बिहानबाट मलंगवामा चहलपहल अझ बढेको छ। 

कर्फ्यु उल्लंघन गर्ने ३५ विरुद्ध मुद्दा दर्ता

मलंगवामा जारी भएको कर्फ्यु आदेशको उल्लंघन गरेको आरोपमा पक्राउ परेका ३५ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। 

मलंगवाका विभिन्न ठाउँबाट पक्राउ परेका ४२ जनामध्ये ३५ जना अहिले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा छन्। उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी दीपेन्द्र पन्जियारले जानकारी दिए। पक्राउ परेका सात जनालाई भने प्रहरीले रिहा गरेको छ। 

‘कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ परेका दुई महिला र पाँच जना किशोरलाई रिहा गरेका छौँ,’ डीएसपी पञ्जियारले भने, ‘बाँकी ३५ जना पुरुष हाम्रो हिरासतमा छन्। उनीहले कर्फ्यु आदेशको उल्लंघन गरेकाले पक्राउ गरेका हौँ। उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार