

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अतुलनीय योगदान दिएका व्यक्तिलाई चिनाउने कार्यक्रम सरकारले तयार गर्नुपर्ने बताएका छन्।
मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो बताएका हुन्। वर्षभरका कार्यक्रम बनाउँदा देशका लागि अतुलनीय योगदान दिएका डा.गौरीशंकरलाल दासको कार्यक्रम राख्नुपर्ने उनको भनाइ छ।
उनले डा. दासले गरेका जीवनका कामहरुको बारेमा नयाँ पुस्तालाई चिनाउन र बुझाउन आवश्यक देखिएको पनि बताए। नेपाली समाजमा गौरीशंकर दासजस्तो प्रवृत्ति र पात्र पनि छन् भनेर देखाउन सक्नुपर्ने उनले बताएका छन्।
‘हामीले वर्षभरका कार्यक्रम बनाउँदै गर्दा खास गरी हामीले नौ जवानहरुलाई डा.गौरीशंकरलाल दास चिनाउने केही कार्यक्रम राख्नुपर्छ। त्यसमा यहाँहरूको साथ हामी चाहन्छौँ। उहाँसँग जसले सहयात्रा गरेको छ, जसले उहाँका योगदानको बारेमा चिन्यो त्यो त थाहा छँदै छ, नौ जवानलाई किन बताउनुपर्ने छ भने हामी कहिले काहीँ यति धेरै राजनीतिका बारेमा कुरा गर्छौं, कहिले काहीँ के लाग्छ भने हामी रित्तो थियौँ भन्ने लाग्छ, तर हामी आधा भरिएका र आधा खाली थियौँ,’ उनले भने, ‘नेपाली राजनीति आफ्नो बाटो हिँड्यो होला तर नेपाली समाजमा गौरीशंकर दासजस्तो प्रवृत्ति र पात्र थियो जसले समाजमा यो त्यो नभनिकन काम गर्नुभयो। आफ्नो कर्म र धर्म छोड्नुभएन। समाजसेवी र चिकित्सकको रुपमा। कहिले नथाकी र नअल्मलिकन उहाँले काम गर्नुभएको छ। राजनीतिबाट अलग रहेर समाजका लागि काम गरिरहनुभएको छ।’
महामन्त्री थापाले समाजमा आफ्नो र अर्काको नभनि नथाकी कन जनसेवामा खटिने व्यक्तिहरूलाई सरकारले सम्मान गर्न सक्नुपर्ने बताए।