

काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
मंगलबार दिव्य शताब्दी पुरुष डा. गौरिशंकर दासलाई नागरिक अभिनन्दन गर्दै मेयर शाहले यस्तो आग्रह गरेका हुन् । उनले डा. दासलाई झैं सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभूति दिलाएर देशमै सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताए ।
स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको पनि उनको भनाइ थियो । तर एउटा व्यक्तिले आफ्नो पेसा इमान्दारिता साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने उनले बताएका थिए ।
‘अहिलेको देशको स्थितिमा उहाँ जस्तो व्यक्तिको बारेमा काठमाडौं महानगरपाकिलाभित्रै नभएर देशभर नै उहाँको विशेषता र प्रेरणाको सूचना प्रवाह गर्नसके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्छ । विशेषगरी डाक्टरसाब, नर्स, स्वास्थ्यकर्मीहरु, अहिलेको देशको स्थितिमा देशमै रहेर सय वर्ष बिताउनसक्ने प्रेरणा जाओस् । अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरु बाहिरिँदै हुनुहुन्छ, उहाँहरुको रक्षा र सुरक्षा गर्न कठिन परेको छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भन्ने स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको व्यवस्था होस् । एउटा व्यक्तिले आफ्नो पेसा इमान्दारिताका साथ निरन्तरता दिन कुनै पनि तन्त्रले केही फरक नपर्ने रेहछ,’ महानगर प्रमुख शाहले भनेका छन् ।
मेयर शाहले देशबाट स्वास्थ्यकर्मीहरु पलायन भइरहेको विषयमा संघ सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।