निङ्गलाशैनी मन्दिरमा ‘ठूली जात’ को रौनक

२०८० आश्विन ९, मंगलवार

बैतडी : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला सुरु भएको छ । 

दशरथचन्द नगरपालिका–२ देहिमाडौँस्थित निङ्गलाशैनी भगवतीको भण्डार घरबाट आज मन्दिरमा भण्डार भित्र्याएसँगै मेला/जात्रा सुरु भएको हो । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको छ । चार दिनसम्म मन्दिरमा पूजाआजा हुने गर्दछ । 

भाद्र शुक्ल पूर्णिमासम्म सञ्चालन हुने जात्रामा नेपाल तथा भारत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा सोराड क्षेत्र र सदरमुकाम क्षेत्रबाट आउने जात्रा मुख्य आकर्षण रहेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा विशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्त्वपूर्ण दिनका रुपमा लिइने गरिएको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए ।

मेलाको अवसरमा मन्दिरमा तीनरात बस्ने उभिएर बत्ती बाल्ने महिला भक्तजनहरूको घुइँचो लागेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । यो मेलालाई स्थानीय भाषामा ‘ठूली जात’ भन्ने चलन रही आएको छ । यो जात्रामा सोराड र बैतडीको जात्रा आकर्षणको रुपमा रहेको छ ।

यो जात्रामा बलि नहुने र यो जातलाई ठूली जातको रुपमा मनाउने गरेको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा मेला भर्नेहरुको घुइँचो लागेको स्थानीय दीपेन्द्रबहादुर बोहराले बताए । 

प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चार पटक जात्रा लाग्ने गरेको छ । भाद्रशुक्ल चतुर्दशी, असोजको महाष्टमी, मङ्सिर शुक्ल पूर्णिमा, चैतको अष्टमीको दिन गरी चार पटक विशेष जात्रा हुने गरेको छ । मेलालाई भव्य र सभ्यरूपमा सफल पार्न मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेलामा कसैले मदिरा सेवन तथा जुवातास खेलेको पाइएमा कानुनअनुसार कारबाही हुने दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए । 

सुदूरपश्चिमको मुख्य खेल देउडा खेलका लागी पनि यो मेलालाई विशेष रुपमा हेर्ने गरिन्छ । जिल्लाभित्र तथा जिल्ला बाहिरका देउडिया यहाँ आउने गरेका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार