कोरला नाका खोल्ने तयारीमा मुस्ताङ प्रशासन

२०८० आश्विन ११, बिहीबार

मुस्ताङ : नेपाल–चीनबीचको कोरला नाका खुला गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला दुवै देशको नाका खोल्न सहमत भएपछि तयारी थालिएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाका खोल्ने निर्णय भए पनि कहिलेबाट खुला हुने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिए । उनले भने, “बोर्डर नै खुला गर्ने निर्णय छ । कुन बेला, कहिलेबाट भन्ने त पछि आउला । हामी यताका कामसँगै चिनिया अधिकारीसँग बैठक गर्ने तयारीमा छौँ ।”

कोरोना महामारी सुरु भएपछि व्यापारिक मेलासमेत कोरलामा नलगेकाले नाका औपचारिक रूपमा खुला हुनुभन्दा अघि नै मेला आयोजना गर्ने तयारीमा मुस्ताङ प्रशासन छ । “दसैँ आउन लागेको छ । व्यापारिक मेला केही दिनमा गर्न सके स्थानीयलाई राहत हुन्थ्यो भनी लागेका छौँ ।” 

नेपालका लागि चिनिया राजदूतावासले नेपाली पक्षलाई साताअघि कूटनीतिक नोट पठाएर कोरला नाका खोल्ने जनाउ दिएको थियो । यसका लागि नेपालले सीमा क्षेत्रमा बसोबास गर्ने मुस्ताङीका लागि प्रवेश अनुमतीपत्र जारी गर्ने र अनुमतीपत्रको नमुना चिनियाँ पक्षलाई उपलब्ध गराउने तयारी छ । असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबीच बैठक बस्ने तयारी भएको बताए । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण २०३२ पछि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । २०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार