पाथीभरा जाने सडक कालोपत्रे नहुँदा तीर्थयात्रीलाई सास्ती

२०८० आश्विन १३, शनिबार

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे नहुँदा तीर्थयात्रीलाई सास्ती भएको छ । पाथीभरा सडकको सुकेटार–देउराली–काफ्लेपाटी खण्ड ठेक्का लागे पनि कालोपत्रेको काम नहुँदा तीर्थयात्रीलाई दर्शनयात्रामा सास्ती भएको हो ।

नेपालीको चाडपर्व दसैँ तिहार नजिकिएसँगै पाथीभरा दर्शनको मुख्य सिजन (मौसम) सुरु भएको छ । दसैँ तिहारको मौसमसँगै पाथीभरा दर्शनका लागि बाक्लो सङ्ख्यामा उपस्थिति हुन थालेको तीर्थयात्रीले भने सडक कालोपत्रे नभएका कारण यात्रामा सास्ती खेप्नुपरेको छ । कच्ची सडक भएका हिलो र धुलोका कारण तीर्थयात्रीले यात्रामा सास्ती हुनेगरेको हो ।

पाथीभराको दर्शनमा वार्षिक लाखौं तीर्थयात्री आउने गर्छन् । हालसम्म पनि पाथीभरा सडक भने कालोपत्रे नहुँदा तीर्थयात्रीको यात्रा असहज बनिरहेको छ । बर्खा मौसममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने भएकाले तीर्थयात्रीको यात्रा सकसपूर्ण रहने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

सवारी साधनको चापका कारण बर्खामा सडक खाल्डाखुल्डी हुने र हिउँद मौसमपछि अत्यधिक धुलाम्मे बन्ने गरेकाले तीर्थयात्रीले सास्ती खेप्नुपर्ने अवस्था रहेको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेको भनाइ छ ।

कार्यकारी निर्देशक काफ्लेका अनुसार बेला–बेलामा क्षेत्र विकास समितिले सडकको खाल्डाखुल्डी पुर्ने र मर्मत सुधारको कार्य गर्दैआएको भए पनि सवारी साधनको चापलाई नथेग्ने गरेको छ । पाथीभरा दर्शनको मुख्य मौसमसँगै वर्षैभरी अर्थात बाह्रै महिना सडक सञ्चालनमा आउने गरेकाले निरन्तर मर्मत सम्भारको कार्य गरे पनि सुधार नआउने गरेको उहाँले बताए । 

उनका अनुसार अझ बर्खा मौसममा अत्यधिक पानी पर्ने हुँदा कच्ची सडक बढी बिग्रने वा ध्वस्त हुनेगरेको छ । खाल्डाखुल्डी पुर्नेलगायतका मर्मतको कार्य गरिरहे पनि बर्खामा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने सडक कालोपत्रे नगरेसम्म सुधार नहुने उनको भनाइ छ । 

पाथीभराको दर्शनमा आउने तीर्थयात्रीले लामो समयदेखि कच्ची सडकमा असहज यात्रा गरिरहनु दुःखद भएको पनि उनले बताए । पाथीभराको सुकेटार–काफ्लेपाटी खण्ड १०.९६६ किलोमिटर दूरीको सडक कालोपत्रे गर्नलाई २०७८ मा नै ठेक्का लागेको हो । ताप्लेजुङस्थित तमोर करिडोर (सुभाङ खोला–दोभान–ओलाङ्चुङगोला) सडक योजना र कन्टेक निर्माण प्रालिबीच २०७८ पुस ११ गते कालोपत्रेका लागि सम्झौता भएको थियो । कन्टेक निर्माण प्रालिले २०८१ असार १२ गतेभित्र सडक कालोपत्रेको काम सक्नेगरी भ्याटसहित कुल ४१ करोड ७६ लाख ४७ हजार १७० रुपियाँमा निर्माणको जिम्मा लिएको हो । सडक योजनाले ठेक्का भने ९६ करोड ८९ लाख ६७ हजार २८० रुपियाँ बजेटमा आह्वान गरेको थियो । 

पाथीभरा सडक कालोपत्रे गर्नलाई ठेक्का लागिसकेको अर्थात निर्माणको जिम्मा भइसकेको भए पनि काम नगरिएकाले सडकको हविगत जस्ताकोतस्तै रहेको छ । सुरुमा निर्माण कम्पनीले ठाउँ–ठाउँमा एक्साभेटर, जेसीभीलगायतका उपकरण प्रयोग गरेकाले सडक झनै बिग्रिएको स्थानीयले बताएका छन् । ठेक्काको जिम्मा लागेको करिव २१ महिना बित्दासमेत कामको प्रगति पाँच प्रतिशत पनि नभएको तमोर करिडो सडक योजनाका सव–इन्जिनियर सुवास गुरुङको भनाइ छ । 

हाल सडक योजनाका निमित्त कार्यालय प्रमुखसमेत रहनुभएका गुरुङले बेला–बेलामा कामको निरीक्षण हुँदै आए पनि निर्माण कम्पनीले काम नगरेको बताए । उक्त योजनाका लागि चालू आवमा बजेट न्युन भए पनि कामको प्रगतिको आधारमा रकम माग गर्न सकिने हुँदा बजेटको अभावन नहुने उनले बताए। 

सुरुमा कन्टेक निर्माण प्रालिका प्रवन्ध निर्देशक गणेश मैनालीले ठेक्का सम्झौताको समयअगावै कालोपत्रेको काम सक्नेगरी निर्माणको कार्यलाई तीब्रता दिइने बताएका थिए । तर, सम्झौता अवधि सकिनलाई करिव नौ महिना बाँकी रहँदा प्रगतिमा मापन गर्न मिल्नेगरीसम्म निर्माणको काम भएको छैन । बर्खा मौसम सकिनासाथ पाथीभरा दर्शनको समय, काम गर्ने जनशक्ति र निर्माण सामग्रीको अभावका कारण काममा ढिलाइ भइरहेको निर्माण कम्पनीका इन्जिनियर मदन कठायतले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार