
काठमाडौं : सोमबार बिहानै टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। कुल मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन् । अर्दोआनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद दिए।
यससँगै उनले देशका दक्षिणका १० प्रदेशमा तीन महिनाका लागि सङ्कटकाल लगाएका छन् । अर्कोतर्फ विश्वभर फैलिएका टर्कीका धेरै नागरिक आफन्तको खबर पाउन आफ्नो देश पुगेका छन् । विदेशमा बस्ने यस्ता व्यक्ति राहत र उद्धार कार्यमा लाग्ने योजनामा छन् । यी मानिसहरू पैसा दिएर पनि पीडितहरूलाई सहयोग गर्न तयार छन्।
टर्कीमा कडा जाडो र हिमपातका कारण राहत तथा उद्धार कार्यमा निकै कठिनाइ भइरहेको छ । यद्यपी उद्धारकर्मीहरुले भग्नावशेषमा पुरिएका मानिसहरुलाई बाहिर निकाल्ने काम जारी राखेका छन् । तर, समय बित्दै जाँदा भग्नावशेषमा फसेका आफन्तको ज्यान जाने चिन्ता बढ्दै गएको छ । टर्कीमा खटिएका एक रिपोर्टरले भने कि उनले भग्नावशेषमा फसेका मानिसहरूको आवाज सुनिरहेका छन्।
विश्व स्वास्थ्य संगठनले भूकम्पबाट लाखौं मानिस प्रभावित भएको अनुमान गरेको छ । उसका अनुसार यस प्रकोपबाट टर्की र सिरियाका करिब २ करोड ३० लाख मानिस कुनै न कुनै रूपमा प्रभावित हुने अनुमान गरिएको छ। सन् १९३९ यताकै सबैभन्दा खतरनाक भूकम्पबाट टर्कीमा मात्रै १ करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरिएको बीबीसी टर्कीका संवाददाता सेलिन गिरिटले बताएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।