सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजे बस्दै

२०७९ माघ २६, बिहीबार १४:५६ बजे

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ । प्रदेशसभा सचिवालयले टाँस गरेको सूचनामा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुखको निर्देशनमा अपराह्न ४ बजे बस्ने गरी सारिएको जनाइएको छ ।

यसअघि हिजो बुधबार बोलाइएको बैठक पनि स्थगन गरेर आज १ बजेका लागि बोलाइएको थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम दिन हो । प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते संविधानको धारा १६८(२) बमोजिम एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिई सक्नुपर्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन ।

मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिका रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य विश्वासको मत दिने आधार नबनेको जनाउँदै अहिले पनि काठमाडौँमै रहेको बताइएको छ ।

यो सँगै मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस भएको छ । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ । प्रदेशसभामा सत्तापक्षीय नेकपा (एमाले)का दश, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रापाका एक सदस्य हुनुहुन्छ । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार