
काठमाडौं : नयाँ राष्ट्रपति चुन्न भएको निर्वाचनमा मतदान सकिएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको हो। मतदान सकिएसँगै अब मतगणनाको तयारी भइरहेको छ।
निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्। आजको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्यले मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मतदान गरेनन्।
संघीय सांसद र प्रदेश सभाका सांसदहरूले खसालेको मत फरक-फरक स्थानमा गणना हुनेछ। गणनामा राष्ट्रपतिका उम्मेदवारका एक/एक जना गणना प्रतिनिधि हुनेछन्। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने टुंगो भएको छ। मतपरिणाम केही घन्टामै सार्वजनिक हुने र विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र दिइने आयोगले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।