फ्रान्स जान थाल्यो इलाममा उत्पादित जडीबुटी

२०८० आश्विन १४, आईतवार

मङ्गलबारे : इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनिले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आउनुभएको थियो । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए ।

केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने उनिले बताए । गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरेलगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री हुँदै आएको जानकारी दिए । उनिका अनुसार निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ ।

उद्योगका सञ्चालक दाहाल ओसोमा विश्वास गरेर गाउँमा नै ध्यान गर्ने अनि गराउने गर्नुहुन्छ । ध्यान गर्न आएका विदेशीले यहाँबाट उत्पादित वस्तु खरिद गरेर लैजान गरेको उनिनिले बताए । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेकाले यहाँ उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको उनिको भनाइ थियो ।

सुरुसुरुमा विदेशीले सामान्य रुपमा जडीबुटी लगे पनि पछिल्लो समय व्यवसायिक रुपमा नै निर्यात हुन थालेपछि आफूलाई पनि थप हौसला बढेको दाहालले जानकारी दिनुभयो । उनिका अनुसार उत्पादित मेन्थाको तेल भने स्थानीय बजारमा नै खतप भइरहेको छ । तितेपाती र धूपीको तेल फ्रान्समा जान थालेको उहाँले बताउनुभयो ।

दाहालका अनुसार धूपी दुई हजार पाँच, तितेपाती छ हजार, मेन्था सात हजार र धसिङ्गरे सात हजार प्रतिकिलो बिक्री हुने गरेको छ । धसिङ्गरेको उत्पादन पनि गाउँमा सुरु भइसकेको छ । दाहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आउनु भएको छ ।

बाँकी स्थानीयवासीबाट वनस्पति खरिद गरी प्रशोधन गरेर तेल उत्पादन गर्ने गरिएको दाहालको भनाइ थियो । “गाउँका किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने गरेको छु”, उनिले भने , “धूपी प्रतिकिलो रू आठ सय र तितेपाती प्रतिकिलो रू चार सयमा लिने गरेको छु ।”

सरकारी निकायबाट कुनै सहयोग नपाएकाले उद्योग फस्टाउन नसकेको उनिको भनाइ थियो । गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पदान गर्ने प्रयासमा लागेको दाहालले बताए ।

“खेर गइरहेको पाती, धूपीलगायत वनस्पतिबाट जडीबुटी÷हर्बल तेल उत्पादन गरेर केही पैसा आउने भएपछि स्थानीयवासीले उत्पादन सुरु गरेका छन्”, स्थानीय घनेन्द्र काफ्लेले भने । यो नयाँ काम भएको भन्दै यसवर्ष धसिङ्गरेका १४ हजार बिरुवा गाउँमा वितरण गरेको बताए ।

काफ्लेले धूपीलगायत अन्य प्रजातीका बिरुवासमेत वितरण गरिएको जनाउँदै डिभिजन वन कार्यालय इलामले दुई लाख बिरुवा सहयोग गरेको जानकारी दिनुभयो । स्थानीय तह तथा कृषि ज्ञान केन्द्रलगायत अन्य निकायबाट भने सहयोग पाउन नसकेको उनिको भनाइ थियो ।

गाउँमा उत्पादित वस्तु बाहिर जान थालेपछि स्थानीयवासीसमेत खुसी भएका केशव दाहालले बताए । “उद्योगबाट उत्पादित तेल तथा जडीबुटी विदेश निर्यात हुन थालेपछि हामीलाई पनि हौसला मिलेको छ”, उनिले भने , “उद्योग विस्तार हुँदै गए स्थानीयले रोजगारीसमेत पाउने छन् ।”

कस्तो जडीबुटी उत्पादन हुन्छ त ?

यहाँबाट विभिन्न वनस्पतिको तेल उत्पादन हुन्छ । उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्दा ठिक हुने उद्याग सञ्चालक दाहालको भनाइ थियो । तेल प्रयोगकर्ताले दुखाइ कम भएको बताएका छन् । हाडजोर्नी, ढाड दुख्ने तथा घुडा दुखाइका बिरामी आउने गरेका उनिले बताए ।

यस वर्षबाट मात्र उत्पादित सबै वस्तु बिक्री हुन थालेकाले अब नाफामा जान सकिने सञ्चालक दाहालले बताए । स्थानीय निकाय तथा सरकारीले सडकको व्यवस्था गरिदिए यहाँबाट उत्पादित जडीबुटी अन्य जिल्लामा पनि पु¥याउन सकिने उनिको भनाइ थियो ।

“नेपाली उखान १२ वर्षमा खोलो पनि फर्किन्छ भने झै उद्योग स्थापनाको ११ वर्षपछि यस वर्षदेखि यहाँबाट उत्पादित तेल तथा जडीबुटी फ्रान्सलगायत देश निर्यात हुन थालेको छ”, दाहालले भने , “स्थानीय तहबाट हालसम्म कुनै सहयोग भएको छैन । आर्थिक सहयोग भए, उद्योगलाई विस्तार गरी उत्पादन पनि बढाउने योजना छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार